
विवादास्पद बुँदामा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व केन्द्रीय कमिटी सदस्यहरूको बैठकले व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको हो ।
यसअघि यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएको माओवादीले मध्यमार्गी विकल्पका रूपमा व्याख्यात्मक टिप्पणी समावेश गर्ने विकल्पमा सहमति जनाएको हो ।
यस विषयमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको बताइएको छ । सहमतिलाई अन्तिम रूप दिन गठबन्धनको बैठक अहिले बालुवाटारमा बस्दैछ । तर, माओवादीले यसलाई व्याख्यात्मक टिप्पणी भन्दा पनि संशोधनकै रूपमा व्याख्या गरेको छ ।
