कर्पोरेट पे प्रणालीबाट रु ५५ अर्बको कारोबार, ४८ बैंक जाेडिए

१५ फाल्गुन २०७८, आईतवार ०८:२६

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा रु ५५ अर्बको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ ।

हाल ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २,६०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।

यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोड सम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड सम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

थालनीको छोटो समयमा नै कर्पोरेटपे प्रणालीेको बढ्दो लोकप्रियता तथा प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधरमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक÷वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।