
प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले बताएको छ। बिहिबार बोलाएको बैठक एमसीसीको विरोद्ध प्रदर्शनको कारण साथै थप छलफल गर्नु पर्ने भएको भन्दै आज दिउसो १ बजे बस्ने गरी स्थगित भएको थियो ।
आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफल पनि रहेको छ। संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अर्थ मन्त्री जनार्दन शर्मो ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव राख्ने उल्लेख छ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन्।
