
प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुरको देउवाको आग्रहमा आजको बैठक स्थगित भएको हो।
फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएको थियो। आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। उक्त भेटमा प्रचण्डले केही समय देउवालाई धैर्य गर्न आग्रह गरेको बताइन्छ।
अमेरिकी सहायता एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो।सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो।
त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रचण्डको भेट भएको थियो। माओवादी र समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन् भने कांग्रेसले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्नका लागि संवादलाई तिब्र बनाएका छन्। मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर देउवाले भेटेका थिए।
