
प्रमुख प्रतिपक्ष एमालेलाई फकाउन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा लागेका छन् । एमसीसी पास गराउन सत्ता सहयात्रीहरुको साथ नपाउने बुझेपछि देउवा प्रमुख प्रतिपक्ष एमालेलाई फकाउन लागेका हुन्।
भोलिको संसद बैठकबाटै एमसीसीलाई निश्कर्षमा पुर्याउने तयारीमा लागेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षका नेताहरुसँग निरन्तर छलफल र भेटघाट गरिरहेका छन् ।
हिजो एमाले अध्यक्ष ओलीलाई बालुवाटारमै भेटेर एमसीसीमा समर्थन खोजेका देउवाले आज आफ्नो दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेटघाटमा खटाएका हुन्। सोहीअनुसार बिहानैदेखि गृहमन्त्री खाँणको दौडधुप बढेको छ । बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकोटपुगेका थिए।
हिजो देउवासँगको बालुवाटार भेटमा भएको अनौपचारिक सहमतिलाई औपचारिकता दिन गृहमन्त्री खाँण बालकोट गएको चर्चा छ । तर, आज पनि ओलीले पूरानै अडान राख्दै ‘एमसीसीमा एमाले प्रष्ट छ’ भनेर अमूर्त जवाफ दिएको बताइएको छ । बताइएका अनुसार ओलीले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको तर, त्यसका लागि काँग्रेसले गठबन्धन तोड्नुपर्ने र सभामुख फेर्नुपर्ने पूरानो अडान यथावत रहेको सन्देश दिएका थिए ।
‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भेटवार्ताबारे भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’
