एमसीसीको विपक्षमा नउभिन प्रचण्डसँग देउवाको आग्रह

११ फाल्गुन २०७८, बुधबार १०:५७

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन लागिपारेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार देउवाले भेट गरेका छन् । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भेटमा उनले संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्। विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।