सरकारको ऋण दायित्व १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब र वैदेशिक ऋण ९ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ऋणको अनुपात ४०.३९ प्रतिशत पुगेको छ । गत असार मसान्तसम्ममा १७ खर्ब ३७ अर्ब रुपैयाँ रहेको वैदेशिक ऋण घटेर १७ खर्ब २८ अर्ब पुगेको हो ।
गत असोजको तुलनामा अवधिमा सरकारको वैदेशिक ऋण ०.०३ प्रतिशतले र आन्तरिक ऋण ०.७३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ऋण १७ खर्ब २३ अर्ब रहेको थियो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा आन्तरिक ऋण १२.२८ प्रतिशत र वाह्य ऋण २२.२४ प्रतिशत रहेको छ ।
नेपालको जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋण ५९ हजार २२५ रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षामार्फत ६४ अर्ब रुपैयाँ ऋण तिरिएको जनाएको छ ।
जसमध्ये ४८ अर्ब ८१ करोड आन्तरिक ऋण तिरेकोमा साँवातर्फ २९ अर्ब र ब्याजतर्फ १९ अर्ब ८१ करोड रुपैयाँ तिरेको जनाएको छ । यसैगरी वैदेशिक ऋणको साँवा र ब्याजगरी १५ अर्ब ५३ करोड रुपैयाँ सरकारले तिरेको छ ।
