तीन दलका शीर्ष नेताबीच भेटवार्ता

६ फाल्गुन २०७८, शुक्रबार ०९:४७

तीन दलका शीर्ष नेताबीच भेतवार्ता भएको छ । माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताबीचमा ‘प्रचण्ड’ निवास खुमलटारमा भेतवार्ता भएको हो ।

सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीका शीर्ष नेताको बैठक बसेको छ। एमसीसीको विपक्षमा रहेका दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र अशोक राई सहभागी रहेको एक नेताले बताए।

बिहीबार बसेको गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति हुन नसकेपछि विनानिष्कर्ष टुंगिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि गठबन्धनका नेताहरु आन्तरिक परामर्शमा जुटेका हुन्।

गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले बिहीबार राति नै एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए।