चालु आर्थिक वर्षको माघ महिनामा मात्रै वाणिज्य बैंकहरुबाट १३ अर्ब निक्षेप बाहिरिएको छ । बैंकहरुको निक्षेप घट्नेक्रम जारी रहँदा कर्जा विस्तार पनि सुस्ताएको छ । माघमा बैंकहरुले १२ अर्बले कर्जा विस्तार गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको माघ २९ गतेसम्म बैंकहरुले ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ५५ अर्ब कर्जा विस्तार गरेका छन् ।
गत पुस मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब २४ अर्ब निक्षेप उठाएर ४१ खर्ब ४३ अर्ब कर्जा विस्तार गरेका थिए ।
चालु आर्थिक वर्षको माघ महिना अर्थात दश महिनाको अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब १० अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले चार खर्ब ३४ अर्ब कर्जा विस्तार गरेका छन । दश महिनाको अवधिमा बैंकहरुको कर्जा विस्तार निक्षेप संकलनको तुलनामा झण्डै चार गुणा रहेको छ ।
बैंकहरुबाट निक्षेप घटेको मात्र नभई कर्जा लगानीमा समेत नियन्त्रण भएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको छ । त्यस्ता बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ । यसले गर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ ।
