अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता र प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले संसद्बाट पारित गर्ने निर्णय गरेको छ । आज (बुधबार) बस्ने संसद् बैठकमा एमसीसी टेबुल हुनुपर्छ भन्दै मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट सबै सांसदहरू एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसीबारे सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरिसकेकोले आजको संसद् बैठकमा एमसीसी टेबल हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनुभएको थियो । कांग्रेस सांसद डा। डिला संग्रौलाका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी संसद् बैठकमा टेबल भएपछि सबै सांसदले अनुमोदन गर्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका डा.रामशरण महतले एमसीसीबारे विस्तृत जानकारी गराउनुभएको थियो । यसअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा पनि डा.महतले एमसीसी बारेमा बताउनुभएको थियो । अहिले संसद्मा टेबल गर्न लागिएको एमसीसी सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते छलफलका लागि संसद्मा दर्ता गरेको थियो ।
