‘काउन्टर महाअभियोगको दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन

२ फाल्गुन २०७८, सोमबार १०:४४

सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेपछि सोमबार (आज) प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । सभामुख अगनि सापकोटामाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।

आज (सोमबार) बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।