अर्थ मन्त्रालय र मातहतका निकायमा व्यापक रूपमा कर्मचारी हेरफेर

१ फाल्गुन २०७८, आईतवार ०८:५२

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको जिम्मेवारी रितेशकुमार शाक्यलाई दिने भएको छ । यसअघिका महानिर्देशक शोभाकान्त पौडेललाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याउने मन्त्रीस्तरको निर्णय गरिएको छ ।

उनको ठाउँमा शाक्यलाई पठाउने निर्णय गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । शाक्य अर्थको योजना अनुमन तथा मुल्याङ्कन महाशाखाका प्रमुख तथा प्रवक्तासमेत हुन । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई पनि जिम्मेवारीबाट हटाइएको छ । सापकोटलाई गृहमन्त्रालय अन्तर्गत तानिएको छ ।

यसैगरी बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराललाई राजस्व व्यवस्थापन महाशाखामा सुरुवा गरिएको छ । कर्णाली प्रदेशका अर्थमामिला सचिवसमेत रहेका चक्र बुढालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव टंकप्रसाद पाण्डे,गृहका रामेश्वर ज्ञवाली,प्रदेश नम्वर १ मा लोकसेवा आयोगमा सचिव रहेका यज्ञराज कोइराला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव ढुण्डीप्रसाद निरौंलालाई समेत अर्थमन्त्रालय तानिएको छ । उद्यपी उनीहरुलाई हालसम्म कुनै पनि जिम्मेवारी तोकिएको छैन ।

पौडेल र सापकोटाले अर्थमन्त्री जनार्दन शर्माको अपेक्षानुरुप राजस्व नठाउन नसकेकाले सरुवा गरिएको बताइएको छ ।