राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र आज (मंगलबार) बोलकबोल हुनेछ र भोलि बुधबार बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
आन्तरिक ऋण उठाउने क्रममा यसअघि दुई पटक गरेर राष्ट्र बैंकले १०/१० अर्ब रुपैयाँको क्रमश: २ वर्षे र ४ वर्षे विकास ऋणपत्र बिक्री गरिसकेको छ । दुबै पटकको बिक्रीमा आह्वान गरिएकोभन्दा ५ गुणा बढी माग परेको छ । ब्याजदर पनि ५.७० भन्दा प्रतिशतभन्दा बढी नै कायम भएको छ ।
आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्य भएकाले पनि गत पुस मसान्तपछि वित्तीय प्रणालीमा पुन: तरलता अभाव देखिएको छ । यस्तो अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले आह्वान गरेको भन्दा धेरै बढी रकमको ऋणपत्र माग गरेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्र (आउँदो चैत मसान्तसम्म) सरकारले १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यही क्रममा ट्रेजरी बिल्स र विकास ऋणपत्रको बिक्री सुरु भएको हो । लामो समयदेखि तरलता अभावको समस्या भोगिरहेको वित्तीय प्रणालीबाट सरकारले आन्तरिक ऋण उठाउने भएपछि तरलता समस्या थप बढ्ने बैंकरहरु बताउँछन् ।
तालिका अनुसार दोस्रो त्रैमासभित्र ट्रेजरी बिल्समार्फत ४४ अर्ब, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत २ अर्ब रुपैयाँ गरी कुल १ खर्ब ५० करोड रुपैयाँ (वार्षिक लक्ष्यको ४२.१ प्रतिशत) आन्तरिक ऋण उठाइने छ । सोही लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन थालिको छ ।
यस्तै, आर्थिक वर्षको चौथो त्रैमासमा ट्रेजरी बिल्समार्फत ५५ अर्ब, विकास ऋणपत्रमार्फत ७५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब र वैदेशिक रोजगारी बचतपत्रमार्फत ५० करोड रुपैयाँ गरी कुल १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ (वार्षिक लक्ष्यको ५५.४ प्रतिशत) आन्तरिक ऋण उठाउने तालिकामा उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
