धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन, ५ जना छनोटमा परे

२४ माघ २०७८, सोमबार २१:०९

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट भएका छन्। अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको हो।

सोमबार बसेको सिफारिस समितिको बैठकले कूल १५ आवेदकमध्ये उत्कृष्ट पाँचको नाम छनोट गरेको हो। छनोट भएका उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। छनोट भएका पाँच जनामध्येबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका थिए। मन्त्रीस्तरीय निर्णयबाट बोर्ड अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन भएको थियो। उक्त समितिले बोर्ड अध्यक्षको लागि आवेदन पनि मागेको थियो।

आवेदन दिने समय सकिएपछि समिति गठन प्रक्रिया नै कानुनसंगत नभएको भनेपछि मन्त्री परिषद्‍बाट निर्णय गराइ समितिलाई कानुनी मान्यता दिई पुन: आवेदन खुला गरेको थियो। अघिल्लोपटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो।