
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए । स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ । सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ ।
वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने शीतल निवास पुगेको समयमा समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । नेपाल बार एशोसिएशनले पनि नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुन समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।
बारले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीतमात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने बताएको थियो ।
