मजदुर रुवाउने शहरको झरी

२३ माघ २०७८, आईतवार १३:५२


ललितपुर । ललितपुरको झरुवारासीस्थित बज्र ईटा उद्योगमा हर्क बुढामगर काँचो इटा छोपिएको प्लाष्टिक निकाल्दै गरेको अवस्थामा भेटिए । प्लाष्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे । अनि भने, ‘लौ प्लाष्टिकले छोपे त ईटा बच्दो रहेछ ।’ उनी खुसी भए ।

बुढामगर पहिलोपल्ट ईटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन् । यसकारण ईटा भट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन् । तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र ईटा भट्टामा ईटा बनाउन थालेपछि तीन पल्ट झरी परिसकेको छ । ‘झरीले तीनै पल्ट ईटा नास गरेको छ।’ सुस्केरा हाल्दै उनले भने, ‘भगवानले पनि गरिखान नदिने रहेछ गरिबलाई ।’ मजदुरले भट्टाको खलामा बनाएर राखेको ईटाको पैसा नपाउँने उनी बताउँछन् । उनी भन्छन्, ‘चाङ लगाएको चाँही पाइने रहेछ ।’ यो बर्ष झण्डै ६ हजार ईटा बनाएपनस पैसा पाइएन । पानी रोकिएपछि फ्याक्दैको हैरान मात्रै भो ।’

उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ । काँचो ईटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ । मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो ईटा पग्लेर झ्याउली भत्केर हैरानी खेपेको बुढामगर बताउँछन् । शुक्रबारको झरीले उनको झ्याउली फेरि भत्कियो । ‘दिनभर भिजेर दाजुभाईले बनायौं ।’ उनी भन्छन्,‘पानी परेर भित्र हिलो भयो ईटा हालेर राखेका छौं ।’

बज्र ईटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी ईटा खेर गएको गुनासो गरे । उनले भने, ‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको ईटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्को ईटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।

यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन् । भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ । त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ । ’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन् ।

बज्र भट्टाबाट काम गर्न नसकेर २(३ परिवार बिस्तापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भने जति नकमाएपछि बस्न मनै हुँदैन । साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् । थामीका अनुसार पछिल्ला बर्षहरूमा इटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ । पहिले माटो आफैले मुछेर ईटा बनाउनु पर्थ्यो । अहिले भट्टा आफैले माटो मुछेर ल्याइदिन्छ । पानी पर्दा छोप्न प्लाष्टिक पनि दिन्छ । बस्नलाई झ्याउली बनादिन्छ ।’

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनिराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् । भन्छन्, लोगो नदेखिएको मात्रै हामीले नलिने हो । अरु सबै उठाउँछौ‌ँ। हरेक झरीपछि क्षति हुने हुँदा ईटाको भाउ समेत बढ्ने सम्भावना हुन्छ ।’
साभार : हाम्रो पात्रो