जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा पहलिो दिनमा नै करिब ६ लाख जनाले आवेदन गरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझ पाँच बजेसम्ममा ५ लाख ८१ हजार ४९८ जना आवेदकबाट ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको ७२ लाख ६५ हजार ४६० कित्ता सेयर खरीदका लागि माग आवेदन परेको हो ।
यो संख्या सर्वसाधारणबाट आवेदन माग गरिएको तुलनामा १४.८९ गुणा बढी हो । शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको कम्पनीले ४ लाख ८७ हजार ९०० कित्ताका लागि सार्वजनिक आह्वान गरेको थियो ।
लघुवित्तले कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले माघ २१ देखि २५ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
