वाइसिएल र युवा संघनेपाल मकवानपुरले हेटौंडामा एमसिसीविरुद्ध प्रदर्शन

२१ माघ २०७८, शुक्रबार १०:५५

सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएल र नेकपा एकीकृत समाजवादीनिकट युवा संघनेपाल मकवानपुरले हेटौंडामा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ।

एमसिसिबारे सत्ता गठबन्धनसहित राष्ट्रिय राजनीति तरङ्गित भइरहँदा गठबन्धनसम्बद्ध वाइसिएल र युवा संघले विरोध प्रदर्शन गरेका हुन्।

‘देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन, सम्पूर्ण नेपाली एक हौ, राष्ट्रघाती एमसिसीको विरोध गरौं’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले हेटौंडाको बुद्धचोकमा प्लेकार्ड र कालो ब्यानरसहित मुखमा कालो पट्टी र हातमा फलामे साङ्लोमा बाँधिएर सांकेतिक विरोध गरेका थिए।