सभामुखमाथि कांग्रेसले महाभियोगको प्रस्ताव ल्याए एमालेले साथ दिने खुलासा

२० माघ २०७८, बिहीबार १३:३६

सभामुख अग्निप्रसाद सापकोटामाथि नेपाली कांग्रेसले महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री साथै पूर्व माओवादी नेता समेत रहेका टोपबहादुर रायमाझीले बताएका छन् ।

माघ २० गते रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’

साक्षात्कारमा कार्यक्रममा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’