गायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) बागलुङ्गको गलकोट नगर समितिको उपाध्यक्षमा चयन

२० माघ २०७८, बिहीबार १२:५८

मन छुने शब्द रचना भाका निर्माण र गायिकिमा पनि उत्तिकै अब्बल रहेका लोक गायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) बागलुङ्गको गलकोट नगर समितिको उपाध्यक्षमा चयन भएका छन् । उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् ।

सबैका लोक प्रिय बनेका गायक खत्रीसहित सात सदस्यीय पदाधिकारी बुधबार बसेको नगर समितिको पहिलो बैठकले चयन गरेको हो । माओवादी केन्द्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ । गलकोट–७ मल्ममा जन्मएका उनले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरिसकेका छन् ।

गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए। ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार र आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ। आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए। उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए। लोकसङ्गीत क्षेत्रमा रूचाइएका गायक र सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्।

उनका ‘भरिया दाइ, अन्तरजातीय विवाह, कि लास चाहियो कि सास चाहियो, जम्मु कश्मिरमा, सुनको जलप, दशैं तिहार आउदा र नयाँ जवान लगायतका गीत चर्चित छन्। ज्येष्ठ सदस्य आत्मराम शर्माका अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुङ्गो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए। पैसठ्ठी सदस्यीय नगर समिति गत मङ्सिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो। आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन।?