र्‍याडिसन हाेटलसहित ५ ठूला क्यासिनोले सरकारलाई राेयल्टी तिरेनन्

२० माघ २०७८, बिहीबार ०८:२३

होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गरेका छैनन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार रूपैयाँ बुझाउन बाँकी रहेको छ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको थियोे । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो।

काठमाडौंको साङ्ग्रिला र पन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार  रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरिएको छ। बुझाउन नआए संचालकलाई पक्राउ गर्ने तयारी छ ।