बेलायतसँग व्यापार सहजीकरण गरिदिन नवनियुक्त राजदूत आचार्यलाई चेम्बरको आग्रह

१९ माघ २०७८, बुधबार १७:२३

नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ।

बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कूटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदुत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए।

बेलायतसंग वार्षिक २ अर्ब हाराहारीमा मात्रै व्यापार भइरहेको सन्र्दभमा अध्यक्ष मल्लले जडीबुटी, खानिजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसंग सहकार्य गर्न सकिने उल्लेख गरे। यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लले बताए।

नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्ले १० वर्षदेखि व्यावसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदुत आचार्यको ध्यानाकर्षण गराए।

राष्ट्रवैंकको तथ्याङक अनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, उलन लगायतका गरी गत वर्ष २ अर्ब ३ करोड रुपैयाको व्यापार गरेको थियो। बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरा लगायत २ अर्व २६ करोड रुपैयाँको आयात गरेको छ ।

अध्यक्ष मल्लले पूर्वाधार, जलस्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई आग्रह गरे। सुन चाँदीको तयारी गरगहना, जिन्सको पेन्ट लगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए।

नवनियुक्त राजदुत आचार्यसंग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसंग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली राजदुतावासमा वर्षमा कम्तीमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदुत आचार्यसँग आग्रह गरे ।

जवाफमा राजदुत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्वन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए। बेलायतसंगको सवैभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई उच्चस्तरीय आर्थिक सम्वन्धमा परिणात गर्नका लागि आफुले सक्दो पहल गर्ने आचार्यको भनाइ छ ।

उनले आफ्नो कार्यकालको सुरुमै दुई देशका व्यापारी बीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए।

बेलायतले पछिल्लो समय जलवायु परिवर्तन विरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको उनले बताए।

नेपाल विकासशील राष्ट्रमा गएपनि भूपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफूले पहल गर्ने आचार्यको भनाइ छ।