२ अर्ब ४० करोड हिनामिना आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

१८ माघ २०७८, मंगलवार १६:५८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २ अर्ब ४० करोड हिनामिना आरोप लगाउँदै एमालेको राष्ट्रिय युवा सङ्घ, नेपालले अख्तियारमा उजुरी दायर गरेको छ ।

साथै उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिना गरेको आरोप लगाइएको छ ।

युवा सङ्घका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्य कोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ, उजुरीमा भनिएको छ, यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाऊँ ।’

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा सङ्घका संयोजक किरण पौडेल, सङ्घका सङ्गठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता उपस्थित थिए ।

केही दिन पहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले नै प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।