राजनीतिक उतारचढाबकाे प्रभाव : कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च ! नेपालमा कस्तो प्रभाव पर्ला ?

१८ माघ २०७८, मंगलवार ०८:१६

पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ ।

जनवरी महिनाको सुरुवातमा बे्रन्टले ७८.९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१.१० अमेरिकी डलर प्रति ब्यारल भएको छ ।

त्यसैगरी महिनाको सुरुवातमा ७६.०८ डलर प्रति ब्यारलमा खरिद गरेको वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आइ)ले ८९.५१ डलर प्रति ब्यारलमा खरिद गरेको छ।

यो मूल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१.७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८.८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। गत वर्षको फेब्रुअरी महिनाको तुलनामा यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ।

युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो ।

रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको फुजीटोमी सेक्युरीटिजका विश्लेषक टोसीटाका टजावाको भनाइ रहेको छ।

तेल निर्यातकर्ता देशहरुको संगठन(ओपेक)ले सम्झौता अनुसार ४ लाख ब्यारल प्रति दिन रिलिज गर्ने भनिएता पनि तेलको मूल्यले बुलिस रुप लिने अनुमान विश्लेषकहरुको रहेको छ।

आगामी महिनाहरुमा ब्रेन्टले ९०+ डलर प्रति ब्यारल र डब्लु टी आइले ९० डलर प्रति ब्यारलमा कारोबार गर्ने अनुमान विज्ञहरुले गरेका छन् । विश्वभरमा क्रूड आयल(कच्चा तेल) यस्तो कमोडिटी हो, जसले धेरै देशको अर्थतन्त्र चलेको छ । यो सस्तो वा महंगो हुँदाको असर सोझै मानिसको दैनिक जीवनमा पर्छ । यसको कारणले कुनै पनि देशको अर्थतन्त्र समेत प्रभावित हुन्छ । यसले कुनै पनि देशको जीडीपी ग्रोथमा मात्र प्रभाव पार्दैन, कतिपय देशको अर्थतन्त्रलाई उकास्ने मुख्य कारण समेत कच्चा तेल नै रहेको छ । विश्वभरि दैनिक करिब ९२४ लाख ब्यारेल कच्चा तेल खपत हुन्छ ।

कच्चा तेल सबैभन्दा बढी खपत गर्ने देशहरुमा चीन, अमेरिका, जापान र भारत अगाडि आउँछन् । नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारतले खरीद गरेर ल्याएको कच्चा तेलबाट रिफाइन गरी निकालिएपछि तयार पेट्रोल, डिजेल र मट्टितेलको रुपमा आयात गर्छ । यी वस्तुकाे आयतमै भाउ बड्दा अर्थतन्त्र स्वतहः प्रभावित बन्नेछ ।

ग्लोबल इकोनोमीको पाङ्ग्रा चलाउन कच्चा तेलको महत्वपूर्ण भूमिका हुन्छ । प्राकृतिक रुपमा पाइने अपरिस्कृत तेललाई नै कच्चा तेल(क्रूड आयल) भनिन्छ । क्रूड आयल कालो रंगको लेदो जस्तै पदार्थ हो । यस्तो तेलमा एक प्रकारको डार्क हाइड्रोकार्बन पदार्थ हुन्छ, जुन कतिपय देशको समुद्र तथा जमीनभित्र पाइन्छ । कच्चा तेलको इतिहास ३० करोड वर्ष पुरानो रहेको छ । एक ब्यारेल तेल बनाउनका लागि कम्तीमा पनि २० ग्यालेन ग्यासोलिनको आवश्यकता पर्छ । क्रूड आयललाई ब्यारेलमा नापिन्छ र एक ब्यारेलमा १५९ लिटर हुन्छ ।

क्रूड आयललाई फ्र्याक्सन डिस्टिलेसन गरेपछि मट्टितेल, पेट्रोल, डिजेल, प्राकृति ग्यास, लुब्रिकेन्ट्स आदि तयार हुन्छ । कच्चा तेललाई आयल रिफाइनरीमा रिफाइन गरेपछि मात्र विभिन्न पेट्रोलियम पदार्थ तयार हुन्छन् ।

कच्चा तेल दुुई प्रकारको हुन्छ । जसमा एउटा हो ब्रेन्ट क्रूड, यस्तो तेलको व्यापार लण्डनमा हुन्छ । दोश्रो हो डब्ल्यूटिआई, जसको अमेरिकामा व्यापार हुन्छ । नेपालमा जुन तेल आयात गरिन्छ, त्यो ब्रेन्ट क्रूडबाट रिफाइन गरिएको हुन्छ ।

क्रूड आयलको ग्लोबल प्रोडक्सनमा ओपेक देशको हिस्सेदारी सबैभन्दा अधिक ४० प्रतिशत रहेको छ । यस्तै, उत्तर अमेरिकाको १७ प्रतिशत, रुसको १३ प्रतिशत, चीनको ५ प्रतिशत, दक्षिण अमेरिकाको ५ प्रतिशत र अन्य देशको हिस्सेदारी २० प्रतिशत रहेको छ ।

यस्तै, ओपेक देशहरुको कुल तेल उत्पादनमध्ये  साउदी अरेबियाको हिस्सेदारी ३२ प्रतिशत, इरान र इराकको १९ प्रतिशत, कुवेतको ८ प्रतिशत, यूूएई र भेनेजुएलाको १६ प्रतिशत र अन्य देशको २५ प्रतिशत रहेको छ ।