एमसीसी पारित नभए गठबन्धन टुट्ने र सभामुखविरुद्ध महाभियोगको दर्ता

१७ माघ २०७८, सोमबार ११:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौता पारित गर्न तयारीमा जुटेका छन्। उनले माघभित्र एमसीसी पारित गर्ने योजनाको साथ कदम चाल्न लागेका छन् ।

एमसीसी पारित गर्नुपर्ने प्रस्ताव देउवाले गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग राखिसकेका छन् । उनले समयसीमा नै तोकेर एमसीसीबारे निर्णय लिनुपर्ने भनेपछि गठबन्धनमा खटपट आउन लागेको छ ।

एमसीसीबारे सहमतिको प्रयास गर्न सभामुख अग्निप्रसाद सापकोटाले १० दिन संसद बैठक स्थगित गरेका छन् । एमसीसी प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरिछाड्ने जोड तोडका साथ तयार भएको देखिन्छ ।

विश्वस्त स्रोतका अनुसार एमसीसी अगाडि बढाउन तयार नभए गठबन्धन टुट्ने देखि सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव सम्म दर्ताको तयारी भएको छ । त्यसका लागि काँग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनको सम्भावना बढेको छ ।