भुवनकुमार दाहाल सानिमा बैंकको सीईओका रूपमा दुई कार्यकाल (८ वर्ष) सेवा गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकबाट बिदा भएका छन् । सानिमा बैंक सञ्चालक समितिका अध्यक्ष टुकप्रसाद पौडेल, संस्थापक जीवा लामिछाने, सीईओ निश्चलराज पाण्डे, तथा ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दाहाललाई बिदाई गरेका छन् ।
वाणिज्य बैंकको तल्लो तहको कर्मचारीदेखि सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत सीईओ भएर काम गरेका उनले यसैबीचमा बैंकहरूको छातासंस्था नेपाल बैंकर्स संघको नेतृत्वमा पनि रहे ।
सानिमा बैंकको सीईओको रूपमा आठ वर्ष काम गरेका दाहालले नेपाल राष्ट्र बैंकले तोकेको दुई कार्यकालभन्दा बढी एउटै बैंकमा सीईओ बन्न नपाउने नियामकीय व्यवस्थाका कारण अवकाश लिएका हुन् । उनलाई अब अन्य कुनै संस्थामा व्यवस्थापन प्रमुख भएर काम गर्ने रूचि छैन । ‘तीस वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरियो । अब स्वतन्त्र जीवन बिताउने हो,’ उनले भने ।
