वाणिज्य बैंकले सरकारलाई १४ अर्ब बढी आयकर बुझाए, कसले कति बुझाए ?

१४ माघ २०७८, शुक्रबार ०७:५०

वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा सरकारलाई  १४ अर्ब बढी आयकर तिरेका छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ११ करोड ७६ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार पुस मसान्तसम्ममा सो रकम बराबरको कर बुझाएका हुन् ।

यो आयकर रकम वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७।७८ को ६ महिना अवधिमा तिरेको भन्दा ८५ करोड ४१ लाख अर्थात ६.४४ प्रतिशतले बढि हो । गत आवको ६ महिनामा बैंकहरुले १३ अर्ब २६ करोड ३४ लाख रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए । बैंकको आम्दानीमा भएका वृद्धिसँगै बैंकहरुले तिर्ने करमा पनि वृद्धि भएको हो ।

सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीको अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंक एक्लेलै ६ महिनामा करिब एक अर्ब धेरै रुपैयाँ कर बुझाएको छ । एक नम्बरमा रहेको बैंकले १ अर्ब २ करोड ९४ लाख रुपैयाँ कर बुझाएको छ ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले पनि यस अवधिमा १ अर्ब बढी कर बुझाएको छ । बैंकले जनता बैंक सहित करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशन गरेपछि खुद नाफामा समेत सबल बनेपछि बैंकले बुझाउने आयकर रकम पनि बढेको हो । बैंकले सरकारलाई १ अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बुझाएको छ ।

थप दश बैंकले सरकारलाई ५० करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्म आयकर बुझाएका छन् । चालु आवको ६ महिना अवधिमा तेस्रो ठूलो आयकर बुझाएको नबिल बैंकले सरकारलाई ९३ करोड ५३ लाख बुझाउँदा राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड २६ लाख, प्राइम कमर्सियल बैंक ७३ करोड ११ लाख, एनएमबि बैंक ७१ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक ६९ करोड ६१ करोड, सिद्धार्थ बैंक ६९ करोड ४३ करोड, कृषि विकास बैंक ६६ करोड ४६ लाख, मेगा बैंक ६० करोड ३२ लाख, प्रभु बैंक ५७ करोड ९२ लाख र सिटिजन्स बैंकले सरकारलाई आयकर वापत ५१ करोड ७४ लाख रुपैयाँ बुझाएको छ ।

चालु आवको ६ महिना अवधिमा पन्ध्र बैंकले ५० करोडभन्दा कम आयकर बुझाएका छन् । सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ । सिभिल बैंकले चालु आवको ६ महिनामा २२ करोड ८२ लाख रुपैयाँ सरकारलाई कर बुझाएको हो । नेपाल बंगलादेश बैंक र नेपाल बैंक कम आयकर तिर्ने बैंकको दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

सरकारलाई ५० करोडभन्दा कम आयकर बुझाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, कुमारी, एनसीसी बैंक, एभरेष्ट, नेपाल एसबिआई, सनराइज, हिमालयन, लक्ष्मी, सेञ्चुरी, बैंक अफ काठमाण्डू, नेपाल बैंक, नेपाल बंगलादेश बैंकर सिभिल बैंक रहेका छन् । यी बैंकहरुले २२ करोड ८२ लाखदेखि ४७ करोड ५७ लाख रुपैयाँसम्म आयकर बुझाएका छन् ।