हराइरहेका ३९ जना मानिसको व्यापक खोजिकार्य जारी

१२ माघ २०७८, बुधबार १३:२०

काठमाडौं । अमेरिकी तट रक्षक समूहले शनिबार राति फ्लोरिडाको सम्द्री तटमा सानो पानीजहाज पल्टिँदा हराइरहेका ३९ जना मानिसको व्यापक खोजिकार्य जारी राखेको छ ।

मंगलवार बिहान फोर्ट पियर्स सहरदेखि करिब ७२ किमि टाढा एउटा सानो पानीजहाजको एक भागमा एकजना व्यक्ति झुन्डिरहेको देखेपछि माझीहरूले सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए ।

यस दुर्घटनामा जीवित फेला परेकाहरूले आफूहरूले बहमासको बिमिनीबाट जलयात्रा सुरु गरेको र शनिबार राति अचानक मौसम खराब भएपछि दुर्घटना भएको बताएका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूले यो जहाज मानव तस्करीका लागि प्रयोग भइरहेको हुनुपर्ने आशंका व्यक्त गरेका छन् । जीवित फेला परेकाहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको र उनीहरूको पहिचान पनि नखुलेको बताइएको छ ।

मायामी तटरक्षक निकायले जहाज र विमानहरू प्रयोग गरी बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ ।
बीबीसीबाट