
नेपालको तरलता अभाव चालू आर्थिक वर्षको छ महिना सकिँदा समेत अझै टर्न सकेको छैन ।
पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुले १७ अर्ब रुपैयाँले निक्षेप उठाएर ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अझै मागअनुसारको कर्जा वितरण गर्न नसकेको बैंकहरुले बताएका छन् ।
विगतका वर्षहरुमा आर्थिक वर्षको मध्यान्तरको छेकमा तरलता सरप्लस समेत हुने गरेको थियो । तर चालू आर्थिक वर्षमा भने अभाव कायम नै छ ।
२७ वाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप बढाएर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा भने ३५ अर्ब प्रवाह भएको छ ।
पुस २३ गते ४३ खर्ब ७ अर्ब निक्षेप थियो भने पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । पुस २ गते ४१ खर्ब ८ अर्ब रहेको ऋण लगानी पुस २३ गते आइपुग्दा ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको संघको भनाइ छ ।
यसरी कर्जाको तुलनामा निक्षेप रकम संकलन कमजोर बन्नुमा सरकारी खर्च पनि जोडिएको छ ।
चालू आर्थिक वर्षको आधा समय बितिसक्दा विकास निर्माणमा लक्ष्यको १४ प्रतिशत मात्रै खर्च भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार ३ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेमा आधा समय बितिसक्दा ५३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
त्यस्तै विकास निर्माणको खर्च हुन नसक्दा विदेशी सहयोगमा काम भइरहेको परियोजनाको पैसा समेत भित्रिन सकिरहेको छैन ।
जसले तरलता अभाव सिर्जना भएको देखिएको हो ।
