६ कम्पनीलाई १ अर्ब २६ करोड बराबरको आईपीओ जारी गर्न धितोपत्र बाेर्डले दियो अनुमति

१० माघ २०७८, सोमबार १४:४४

नेपाल धितोपत्र बोर्डले एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६२ हजार २९० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।

गत साउन १४ गते अन्तिम पटक आईपीओ निष्काशन गर्न अनुमति दिएको बोर्डले हालै ६ महिनापछि एकैपटक ६ कम्पनीलाई सेयर बिक्री गर्न अनुमति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले ग्रीन भेञ्चर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डले ग्रीन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, नेष्डो समृद्ध लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर र जाल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बलेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल, राष्ट्र उत्थान लघुवित्त एनआईबिएल एस क्यापिटल, इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल, ग्रीन भेन्चरको लक्ष्मी क्यापिटल र जाल्पा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ ।

बोर्ड अध्यक्ष पद खाली भएको करिब ५ महिनासम्म कुनैपनि कम्पनीले कम्पनीले आईपीओ अनुमति पाउन सकेका थिएनन् । धित्रोपत्र बोर्डले गत साउन १४ गते सामलिङ्ग पावरलाई सेयर जारी गर्न अनुमति दिएयता बोर्डले आइतबार ६ कम्पनीलाई आईपीओ अनुमति दिएको हो । बोर्डले एकैपटक ६ कम्पनीलाई अनुमति दिएसँगै ६ महिनायता रिक्त रहेको प्राथमिक बजारमा सेयरको आपूर्ति बढ्ने भएको छ ।