१० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१० माघ २०७८, सोमबार १४:३६


राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८० ‘ङ’ जारी गरेर आन्तरिक ऋण उठाउने भएको छ ।

यो विकास ऋणपत्र २ वर्षे अवधिको हुनेछ । माघ १२ गते बुधबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८० माघ १२ गते हुनेछ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।

इच्छुकले माघ ११ गते मंगलबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५० करोड (८५ प्रतिशत) र १ अर्ब ५० करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।