
चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा भएको थियो ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोड रुपैयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।
यश वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ। सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले बृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो। निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ।
चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट वस्तु आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाख रुपैयाँको आयात भएको छ।
भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएको छ।
यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड रुपैयाँ तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ।
