
काठमाडौं । विराटनगर महानगरपालिकाको ढाटमा दुर्घटनामा परेर घाइते भएका एक जना पुरुषका आफन्त तथा परिवारका सदस्य फेला पर्न सकिरहेका छैनन्।
विराटनगरबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को १ झ ३५९४ नम्बरको म्याजिक भेनले गत शुक्रबार दिउँसो ४ बजेतिर ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए। पैदल हिँडिरहेको बेलामा उनलाई म्याजिकले ठक्कर दिएको हो।
गम्भीर अवस्थाका घाइतेको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार उपचारमा संलग्न चिकित्सकले घाइतेको देब्रेतर्फको ४ वटा करङ भाँचिएको र फोक्सोमा पानी जमेको बताएका छन्।
बोल्न सक्ने अवस्थामा नरहेका घाइतेले आफ्ना बारेमा केही पनि बताउन सक्दैनन्। दुर्घटनामा परेर उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि गम्भीर अवस्थाका घाइतेका आफन्त र परिवार सम्पर्कमा नआएका कारण थप समस्या भइरहेको उनले बताए।
‘आफन्त कोही पनि सम्पर्कमा नआएपछि प्रहरीले खोजी जारी राखेको छ’, जीसीले भने, ‘घाइतेको उपचारमा कुनै कमजोरी हुन नदिन अस्पताललाई आग्रह गरिएको छ।
उनका अनुसार अहिले म्याजिक धनीले नै घाइतेको उपचार खर्च तिरिरहेका छन्। दुर्घटनालगत्तै प्रहरीले म्याजिक र चालक बूढीगंगाका ४० वर्षीय शिवप्रसाद गुरागाईंलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
साभार : अन्नपूर्ण अनलाइन
