गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले हाेला परीक्षण उडान ?

९ माघ २०७८, आईतवार ०८:१२

गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान एक महिनाभित्रै गर्ने तयारी गरिएको छ ।

अहिले विमानस्थलको पूर्वाधार निर्माणको काम सकिएको छ भने विमानस्थलमा जडान भएका उपकरणहरूको परीक्षण गर्न परीक्षण उडान मात्र बाँकी छ ।

पछिल्लो एक वर्षदेखि यो काम बाँकी छ । क्यालिबे्रसन फ्लाइट गर्न थाइल्यान्ड, अमेरिका र युरोपका प्राविधिक केही दिनमा आउने परियोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

उनीहरु आएपछि एक महिनाभित्रै परिक्षण उडान गर्ने तयारी गरिएको उनको भनाइ छ।

क्यालिब्रेसन फ्लाइट अगाडि गर्नुपर्ने प्राविधिक चेकजाँचका लागि अमेरिका, अस्ट्रेलिया र थाइल्यान्डका प्राविधिक एकसाथ फिल्डमा हुनु आवश्यक रहेको उनले जानकारी दिए ।

कोरोनाकाल अगाडि विभिन्न मुलुकका प्राविधिकहरूले विमानस्थलको लाइटिङको काम गरिसकेका छन् ।

कोरोनाका कारण थाइल्यान्डले आफ्नै नागरिकलाई बाहिरी देश जाने अनुमति नदिँदा एक वर्षदेखि यो काम अलमलिँदै आएको थियो ।

अहिले अस्ट्रेलियन प्राविधिक आएर नेपाल नागरिक उड्डयन प्राधिकरणका १० जनालाई तालिम दिँदै छन् ।

जनवरी २४ मा थाइल्यान्डका प्राविधिक आउँदै छन् भने केही दिनमा अमेरिकाबाट पनि प्राविधिक आइपुग्ने भएपछि क्यालिब्रेसन फ्लाइट हुने आशा देखिएको छ ।