अबकाे तीन महिनामा सरकारले एक खर्ब ५० कराेड रूपैयाँ आन्तरिक ऋण उठाउने भएकाे छ ।
यसअघि ६ अर्ब उठाएकाे सरकारले वार्षिक लक्ष्यकाे ४२.१ प्रतिशत आगामी ३ महिनामा उठाउने भएकाे हाे ।
सरकारी खर्च नभएकाले वित्तीय प्रणालीमा तरलता अभावको समस्या कायमै रहेका बेला सरकारले आन्तरिक ऋण उठाउन थालेको हो । यसका लागि राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वर्षको सुरुदेखि आन्तरिक ऋण उठाउने भनिए पनि तरलता अभाव रहेको भन्दै उठाइएको थिएन ।
सरकारले वैशाख लागेपछि एक खर्ब ३२ अर्ब ५० कराेड रुपैयाँ थप ऋण उठाउने छ । सरकारले चालू वर्ष कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने छ ।
लामो समयदेखि तरलता अभावको समस्या भोगिरहेको वित्तीय प्रणालीबाट सरकारले आन्तरिक ऋण उठाउने भएपछि तरलता समस्या थप बढ्ने जानकारहरू बताउँछन् ।
तर तालिका सार्वजनिक गरे पनि बजारमा तरलता अवस्था हेरेर मात्र आन्तरिक ऋण उठाइने भएकाले बैंक तथा वित्तीय संस्थामा थप चाप नपर्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
आन्तरिक ऋणको तालिका सार्वजनिक गर्नुअघि दोस्रो त्रैमास (पुस) सम्म ट्रेजरी बिल्समार्फत सरकारले ६ अर्ब रुपैयाँ (वार्षिक लक्ष्यको २.५ प्रतिशत) आन्तरिक ऋण उठाइसकेको छ । सरकारले चैतसम्म ४४ अर्ब रूपैयाँ ट्रेजरी बिलमार्फत उठाउने छ । यसपछि ५४ अर्ब ५० कराेड विकास ऋणपत्रमार्फत, २ अर्ब नागरिक बचत पत्रमार्फत उठाउने छ ।
