भारतसँग इन्धन किनेको पैसा तिर्न आयल निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

८ माघ २०७८, शनिबार १६:२७

भारतसँग इन्धन किनेको पैसा तिर्न सरकारले नेपाल आयल निगमलाई १ अर्ब ८० करोड रुफैयाँ दिने भएको छ ।

पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोषको हालैको बैठकले निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

आयल निगमले यही जनवरी २३ सम्म भारतीय आयल कर्पोरेशनलाई १३ अर्ब रुपैयाँ तिर्नुपर्ने बताएको छ । तर, पेट्रोलियम पदार्थको बिक्रीबाट ११ अर्ब २० करोड रुपैयाँ मात्रै संकल भएको निगमको भनाइ छ ।

नेपाल आयल निगमकाे पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक (१५ दिनको) घाटा १ अर्ब ८८ करोडको छ ।

निगमका अनुसार, हालसम्मको बचत रकम सकिएको  छ ।

अब पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा नोक्सानी छ । त्यस्तै डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा नोक्सानी छ ।

मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा रहेको छ ।

निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । यी सबै इन्धनको आगामी १५ दिनको खपत प्रक्षेपणअनुसार निगमले घाटा रकम अनुमान गरेको हो ।

भारतीय सीमावर्तीको तुलनामा नेपालतर्फ वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ, डिजेल २८ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।

निगमले बुधबार  राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

यो मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धनमा पनि मूल्य बढाइएकाे थियो ।