नेपाल राष्ट्र बैंकको नियमनमाथि गम्भीर प्रश्न उठ्ने गरी बजारमा डलरको अवैध कारोबार बढेको छ ।
मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको पाइएको छ ।
केही समय अघि प्रहरीले ठूलो मात्रमा डलर ओसार पसार गर्ने भरियालाई समातेको घटनाले पनि नेपाल पछिल्लो समय तस्करहरुको ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रष्ट पारेको छ ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङ, ४२, बारम्बार पोखरा–काठमाडौं आउजाउ गर्दथे । काठमाडौंबाट प्रायजसो सार्वजनिक गाडीमा पोखरा आउने र फर्किने बेला जहाजमा उनी यात्रा गर्दथे ।
त्यही क्रममा गुरुङ गत ११ मंसिरमा काठमाडौंबाट सार्वजनिक गाडी चढेर पोखरा आउँदै थिए । तर, उनी पोखरा आइनपुग्दै राजमार्गमै प्रहरीको फन्दामा परे । प्रहरीले सुराकीको आधारमा राजमार्गमा गाडी चेकजाँच गरिहेको बेला उनी सवार माईक्रोबस पोखरा महानगरपालिका–३३ मझुवामा चेकजाँचमा परेको थियो। त्यहीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर फेला पारेको छ । सार्वजनिक सवारीमा आएका उनलाई प्रहरीले कास्की प्रवेश गर्नासाथ पक्राउ गरेको थियो । विदेशी अवैध रकम कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा गुरुङलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार गत अक्टोवर ३० मा पनि उनी पोखराबाट जहाज चढेर काठमाडौं फर्केका थिए । सोधपुछका क्रममा यसअघि पनि पोखरामा यस्तै कारोबार गर्न आएको उनले प्रहरीसमक्ष बताएका छन् । तर, त्यो बेला कति रकम ल्याएर कसलाई बुझाएको भन्नेबारे खुलेको छैन ।
तर, उनीसँगको जहाजको टिकटको आधारमा अनुसन्धान गर्दा उनी पोखरा आउँदा सार्वजनिक गाडीमा आउने र फर्किदा जहाजमा फर्किने गरेको खुलेको छ । त्यो क्रम चलिरहँदा एक महिना अघि पनि उनले केही अमेरिकी डलर पोखरामा ल्याएर छाडेको अनुमान छ ।
‘हाम्रो अनुसन्धानमा मुस्ताङ हुँदै अवैध डलर चीन जाने गरेको देखिन्छ,’ राजस्व अनुसन्धान विभागका उपन्यायाधिवक्ता अर्जुन कोइरालाले भने, ‘निकै चलाखीसाथ तस्करी हुने भएकाले हामीले गिरोहका थप व्यक्ति पक्राउ गर्न सकेनौँ ।’
कोइरालाका अनुसार पक्राउ परेका गुरुङले सो डलर आफूलाई बौद्धस्थित अकुपेमा होटेलमा दिइएको थियो । विभागले होटेलमा पुगेर अनुसन्धान गर्दा होटेलको सिसिक्यामेराको भिडियो डिलिट भइसकेको थियो ।
‘उनले भनेको भन्दा अर्कै व्यक्ति होटेलको सञ्चालक भएको देखियो,’ कोइराला भन्छन्, ‘सिसिक्यामेराको फुटेज पनि नभएकाले उनलाई डलर दिने व्यक्ति पत्ता लगाउन सकेनौँ ।’
गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन २०१९ र विदेशी मुद्रा अपचलनसम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनायो ।
आफूलाई ५० हजार रुपैयाँ दिने सर्तमा सो डलर पोखरा लगेको गुरुङको भनाइ छ । त्यसरी तस्करी गर्दा मोबाइलको समेत प्रयोग नभएकाले गिरोह पत्ता लगाउन समस्या भएको कोइराला बताउँछन् । पोखरामा एक व्यक्ति लिन आउने र उनलाई दिन भनिएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् ।
विभागले गुरुङलाई मात्र प्रतिवादी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरिसकेको छ । अदालतले उनलाई दुई करोड धरौटी माग भएकामा धरौटी बुझाउन नसक्दा उनी जेल चलान भएका छन् ।
गुरुङ तस्करीका भरिया मात्र हुन् । यसमा पनि भरियालाई जेल हालेर तस्करलाई उन्मुक्ति दिने खेल भएको छ । मुस्ताङको व्यक्ति भएकाले उनलाई नै भरियाका रूपमा प्रयोग गर्दा सहज हुने भएकाले चिनियाँ समूहले उनलाई ओसारपसारमा प्रत्यक्ष रूपमा प्रयोग गरी डलर तस्करी गरेको हो । त्यति धेरै डलर उनीहरूले काठमाडौंमा कसरी संकलन गरे भन्ने पत्ता लाग्न सकेको छैन ।
एक प्रहरी अधिकारीका अनुसार चलेको रेटभन्दा महँगो तिरेर उनीहरूले डलर साट्ने गरेका छन् । यसमा विगतमा ठमेल, वसन्तपुर क्षेत्रमा मनी एक्सचेन्ज काउन्टरको समेत संलग्नता देखिएको थियो । त्यस्ता मनी एक्सचेन्जमाथि नेपाल राष्ट्र बैंकबाट अनुगमन हुन नसक्दा विदेशी मुद्राको तस्करी भइरहेको हो । अवैध कारोबार भएको पत्ता लाग्दा पनि राष्ट्र बैंककले सामान्य जरिवाना गरेर उन्मुक्ति दिने गरेको छ ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१) विदेशी विनियम कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंकबाट इजाजतपत्र लिनुपर्ने कानुनी प्रावधान छ । सोही ऐनको दफा ४(१) मा कसैले पनि बैंकको स्विकृति नलिई इजाजतपत्र प्राप्त व्यक्तिसँग बाहेक अरू व्यक्तिसँग विदेशी विनिमय कारोबार गर्न नहुने व्यवस्था कानुनले गरेको छ ।
