६ महीनामा देउवा सरकारले अर्थतन्त्रमा केके काम गर्याे र, अब के गर्दैछ ? विस्तृतमा…

७ माघ २०७८, शुक्रबार १८:३१

सरकारका ६ महिने उपलव्धि देशबासीका नाममा सम्बाेधन गर्दै   प्नधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरे । उनलेे  सरकार गठन भएपछि तीव्ररुपमा आर्थिक क्रियाकलाप भएको दाबी गरेका छन् ।

देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता कोरोना विरुद्धको खोपमा सबैको पहुँचका साथै आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु थियो, त्यसमा काम भइरहेको छ ।’

उनले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्नका लागि निजी क्षेत्रको विकास गर्दै उद्यम विकासमा काम गर्नुपर्ने बताए ।  आर्थिक उदारिकण र निजीकरणबाट नेपाल अति विकसित राष्ट्रबाट स्तरोन्नती भएको अवस्थामा पुगेको उनको भनाइ छ ।

चैतसम्म सबै नेपालीलाई खोप लगाउने उद्देश्य लिए अनुसार खोप अभियान हाल पनि जारी रहेको छ ।  तीन वटै तहका सरकारको समन्वयमा कोभिड नियन्त्रणका लागि काम गरिरहेको समेत उनलेे दाबी गरे ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि नागरिकताको समस्या समाधान तथा संघीयता कार्यान्यन गर्ने विषय सरकारको उच्च प्राथमिकताको विषयमा भएको बताए ।

उनले संसदको गतिरोध अन्त्य गर्ने र एक वर्षभित्र तीन तहको दायित्व सरकारको भएकाले निर्वाचनका सबै काम सम्पन्न गर्न समेत अपिल गरेका छन् ।

उनले आर्थिक सामाजिक उत्पादनमुलक अर्थतन्त्रमा आफ्नो सरकाले प्राथमिकता राखेको र महंगी नियन्त्रण तथा भ्रष्टाचार नियन्त्रणका लागि समेत काम गरेको दाबी गरे । संकटग्रस्त उद्योगको उत्थानका लागि विशेष आर्थिक प्याकेज ल्याएको समेत उनले बताए । देउवाले सम्पत्ति अभिलेखिकरण गर्न दिने बताए ।

निजी क्षेत्रले लामो समयदेखि सम्पत्तिको अभिलेखिकरण गर्न दिनुपर्ने माग राख्दै आएको थियो । प्रधानमन्त्री देउवाले उद्योग क्षेत्रको प्रबर्द्धनका लागि छुट्टै विशिष्टिकृत कोष स्थापना गर्ने बताए । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले औद्योगिक र लगानी प्रबर्द्धनलाई सरकारको उच्च प्राथमिकतामा राखेको जिकिर गरे ।

देउवाले उपयुक्त तथा विवेकशिल वित्त तथा मौद्रिक उपकरणहरुको अवलम्बन गर्दै वित्तीय क्षेत्रमा स्थायित्व कायम गरिएको दाबी गर्दै प्रधानमन्त्रीले तीव्र आर्थिक बिस्तारका लागि आवश्यक उच्च लगानीयोग्य पुँजीको अभाव हुन नदिइएको समेत दाबी गरे ।

प्रधानमन्त्रीले उच्च कर्जाको माग र बिस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई बाञ्छित सीमाभित्र नै राखिएको भन्दै पुनर्कर्जातर्फ १ खर्ब ६ अर्ब ७ करोड र सहुलियततर्फ ब्याजदरमा कर्जा प्रवाह गरिएको बताए ।
प्रधानमन्त्री देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताए ।

उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।

भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।