चालू वर्षको मंसिरसम्म कुल ७ अर्ब ७ करोड रुपैयाँ कुल विदेशी लगानी मुलुक भित्रिएको छ ।
गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको वैदेशिक लगानी ५७ प्रतिशत बढेको हो ।
२०७७ मंसिरसम्म कुल ४ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । पछिल्ला महिनामा अर्थतन्त्रका प्रायः सबै परिसूचक उच्च अंकले ऋणात्मक रहेको अवस्थामा एफडीआई भने उल्लेख्य बढिरहेको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये करिब ८५ प्रतिशत ऊर्जा क्षेत्र (विद्युत्, ग्यास र पानी) मा लगानी भएको देखिन्छ । बाँकी १५ प्रतिशत सेवा र अन्य क्षेत्रमा गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।
चालु आर्थिक वर्षको सुरुदेखि नै यही प्रवृत्ति कायम छ । गत वर्षको तुलनामा यो वर्ष विदेशी लगानी बढेको देखिए पनि भित्रिएको लगानी रकम निकै कम छ ।
यसकारण शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा बढेको विदेशी लगानीको योगदान नदेखिएको अर्थविद्हरूले जनाएका छन् ।
