
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय, चितवनले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार शुक्रबार बिहान खसेको पहिरोले यातायात अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय, भरतपुरका अनुसार पहिरो हटाउन शुरू गरिएको छ। तर, ठूलो पहिरो खसेकाले सडक खुल्न केही समय लाग्नेछ।
कालिखोला क्षेत्रमा पटकपटक सुख्खा पहिरो जाने गरेको छ। यसअघि बर्खायाममा पहिरो जाँदा पटक–पटक सडक अवरुद्ध भएको थियो।
बिहानैदेखि सडक अवरुद्ध भएपछि कयौं गाडी बाटोमै रोकिएका छन्। गाडीको लामो लाइन लागेको ट्राफिक प्रहरीले जनाएको छ।
