एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले ‘४जी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ ।
कम्पनीले ‘४जी एलटीई’ नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।
कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । ‘४जी एलटीई’ नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल ‘इन्डिभिजुअल प्याकेज’ र ‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ ।
‘इन्डिभिजुअल प्याकेज’ अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीवी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९ हजारमा ७२० जीवी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीवी प्याक लिन सकिन्छ ।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १ हजार २०० मा १२० जीवी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३ हजार ५०० मा १ हजार ४४० जीवी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीवी प्याक लिन सकिन्छ।
‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ मा रु. ३ हजार ६५० र रु. २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन्। यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
