घुँडामा देखिएको चोटका कारण सोमपाल कामी टी–२० विश्वकप छनोट भएनन्

६ माघ २०७८, बिहीबार १३:२८

काठमाडौं । घुँडामा देखिएको चोटका कारण सोमपाल कामीले टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीमा स्थान बनाउन सकेका छैनन्। प्रधानमन्त्री कप क्रिकेट दौरानमा घाइते भएका सोमपालको एमआरआई रिपोर्टका आधारमा चिकित्सकले कम्तीमा एक साता आराम गर्न सल्लाह दिएका छन् ।

‘चिकित्सकले एन्टी इन्फ्लामेटरी दिनुभएको छ। एक सातापछि पनि दुखाइ कम भएन भने थप उपचार गर्नुपर्ने हुन्छ । नत्र विस्तारै रिह्याब गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो ।

सोमपाल नेपाली टोलीका अनुभवी सदस्य हुन् । टी–२० क्रिकेटमा उनको अलराउन्ड क्षमता नेपालका लागि धेरै चोटि उपयोगी भएको छ । सन् २०१४ मा भएको टी–२० क्रिकेटमा सोमपालले बेजोड बलिङ प्रदर्शन गरेका थिए । त्यसयता उनी नेपाली टोलीमा नियमित रहँदै आएका थिए ।

सोमपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औँ नम्बरमा आएर सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको विश्वकीर्तिमान पनि बनाएका थिए ।