यादवले आफूनिकट नेतालाई मात्र सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बने

४ माघ २०७८, मंगलवार १५:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षले पार्टीको बैठक बोलाउन माग गरेका छन्। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएको कार्यकारिणी सदस्य नवराज सुवेदीले बताए।

यादवले बैठक बोलाउन आनाकानी गरेमा कार्यकारिणी समितिमा बहुमत जुटाएर बैठक बसाउने तयारी समेत यो पक्षले गरेको छ।
गत साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्रपक्षले पाएपछि महन्थ ठाकुरपक्षले नयाँ पार्टी दर्ता गरेको थियो। विवादको एक पक्षले अर्कै पार्टी गठन गरेको केही महिना नबित्दै जसपाभित्र अर्को विवाद उत्पन्न भएको हो। अहिले भट्टराई र राई एक पक्षमा छन् भने यादव अर्को पक्षमा छन्।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै कार्यकारिणी समिति बैठक नबोलाए विधान बमोजिम अघि बढ्ने आफूहरुको तयारी रहेको सुवेदीको भनाइ छ। ‘बाबुराम र अशोकजीलाई उपेन्द्रजीसँग समन्वय गरेर बैठक बोलाउन भनिएको छ। उहाँ (यादव)ले आनाकानी गरेमा बैठक बोलाउनेतिर परिस्थिति जान्छ’, उनले भने, ‘तर, पार्टीका सबै नेताको समन्वयमा बैठक बस्नेमा आशावादी छु। सायद बस्न सक्छ।’

जसपामा यादव र भट्टराईबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि नै विवाद सतहमा आउन थालेको हो। सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल बनाउँदा तीन नेताबीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो। तर, यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बनेका थिए।