१० वटा नयाँ परियोजनामाथि अध्ययन थाल्दै लगानी बाेर्ड

४ माघ २०७८, मंगलवार ०८:३६

लगानी बोर्डले १० वटा नयाँ परियोजनामाथि अध्ययनको थालेको छ ।

१० वर्षको अवधिमा २८ परियोजनामा ८ खर्ब ४४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो ।

अध्ययनको लागि छनोट गरिएका परियोजना ७ वटै प्रदेशबाट रहेका छन् । सबै प्रदेशमा समन्यायिक विकासको लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

१० वटा परियोजनामध्ये प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णालीका १/१ परियोजना रहेका छन् भने बागमती प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशबाट २ वटा परियोजना रहेका छन् ।

अध्ययन  गर्न थालिएका ७ प्रदेशका १० परियोजनामा बागमती प्रदेशमा, बस र्‍यापिड ट्रान्जिट रिङरोड, धुलिखेल मेडिसिटी, दोलखा फिल्मी सिटी परियोजना हो । सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम पब्लिक ट्रान्सपोर्ट, खप्तड इन्ट्रिग्रेटड टुरिजम प्रोजेक्टमा अध्ययन थालिएको छ । यस्तै, प्रदेश १ काे तलतलैयाँ मल्टिप्रपोज प्रोजेक्ट, प्रदेश २ मा जानकी ह्यारिटेज होटल एण्ड कल्चरल भिलेज, गण्डकी प्रदेशकाे इन्टरनेशनल कन्भेसन सेन्टर पोखरा, लुम्बिनी प्रदेशकाे गौतमबुद्ध म्याटरनिटी हस्पिटल, कर्णाली प्रदेशकाे कर्णाली इन्ट्रिग्रेटेड हर्वल प्रोसेसिङ यी परियोजनाको अध्ययनले लगानीकर्तालाई नयाँ प्रोजेक्ट देखाउन र यी परियोजनाको अनुमानित लागतका साथै हुन सक्ने लाभ लगायतका विषयमा जानकारी गराउन सहज हुने लगानी बोर्डका अधिकारीहरूले बताएका छन् ।

लगानी बोर्डको कार्यालय स्थपना भएपछि २८ परियोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । तर स्वीकृत गरिएको लगानीमध्ये न्यून मात्रामा मात्रै अहिलेसम्म लगानी प्रवाह भएको छ । २०६८ सालमा स्थपना भएको लगानी बोर्डको कार्यालयले २०७० सालमा डङ्गोटे सिमेन्ट उद्योगको लागि लगानी स्वीकृत गरेको थियो । तर लगानी गर्न नसेकेको भन्दै यसको लगानीकर्ता फिर्ता भइसकेको छ ।

योसहित ऊर्जा, उत्पादन, खनिज, पर्यटन, यातायात शहरी विकास गरी ६ क्षेत्रमा २८ उद्योगको लागि लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ । स्वीकृत गरिएको लगानीमध्ये अहिलेसम्म एउटा मात्रै उद्योग सञ्चालनमा आएको छ । लगानी बोर्डले लगानी स्वीकृत गरेको ह्वाङसी सिवम् सिमेन्ट अहिले सञ्चालनमा रहेको छ ।

४ वटा उद्योग निर्माणको क्रममा रहेका छन् । निर्माणको क्रममा रहेका उद्योगहरूमा अरुण ३ हाइड्रो पावर कम्पनी, अपर त्रिशुली १, हुवासीन सिमेन्ट र वेष्ट टु इनर्जी प्रोजेक्ट रहेका छन् ।

थप ५ वटा आयोजना लगानी बोर्डले स्वीकृत गरेको छ । जसमा चाइना नेपाल फ्रेन्डसिप इन्ड्रसटियल पार्क, भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसम्वलिङ प्लान्ट, दाङ सिमेन्ट, स्मार्ट सिमेन्ट र अपर मर्स्याङ्दी हाइड्रो पावर रहेका छन् ।

हालसम्म अन्य निकायबाट लगानी स्वीकृत भइ लगानी बोर्डले सहजीकरण गरेका आयोजनाको लागि २ खर्ब ६० अर्ब रुपैयाँ र बोर्डमार्फत लगानी स्वीकृत गरेका ३ खर्ब १६ अर्बको आयोजना गरी ५ खर्ब ७६ अर्बको आयोजनाहरूमा सहजीकरण गरिएको बोर्डको कार्यालयले जनाएको छ ।