आइतबार ६९ अंकले बढेको नेप्से सोमबार थप २०.६४ अंकले बढेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरुले माघ महिनाका लागि ब्याजदर बढाएका छैनन् ।
बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभाव हट्न थालेपछि सेयर बजारमा चमक छाएको हो । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा समेत बजार वृद्धिमा टेवा पुगेको छ ।
संक्रमण बढ्दा लगानीका अन्य क्षेत्र संकुचित हुने र सेयर बजारमा लगानी एकिकृत हुने आंकलनका साथ लगानीकर्ताहरुले सेयर बजारमा लगानी बढाउन थालेका हुन् ।
सोमबार नेप्से २०.६४ अंकले बढेर २९४७.३८ अंकमा पुगेको छ । आज कुल २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ९६ हजार ४०८ वटा कारोबारबाट ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६९ रुपैयाँमा खरीद बिक्री भएका छन् । आइतबार ९९ अर्ब ६७ करोडको सेयर कारोबार भएकोमा सोमबार भने कारोबार रकम १ अर्ब ७७ करोड रुपैयाँले घटेको हो ।
यसदिन मध्य भोटेकोशीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य ४१.७० रुपैयाँले बढेर ४५८.८० रुपैयाँ पुगेको छ । यसैगरी सनराइज ब्लूचिप फण्डको ८.३३ प्रतिशत, सिंगटी हाइड्रोपावरको ८.१९, सिइडिबि हाइड्रोपावरको ८.०१, एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको ७.७८, सामलिङ्ग पावरको ७.०४, नेपाल एसबिआई बैंक ६.०२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी ५.९५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर ५.८९ र लिवर्टी इनर्जीको सेयरधनीले ५.२६ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन एनएबि डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै ३.९५ प्रतिशतले घटेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.९१, समीट लघुवित्त २.६९, युनिलिभर नेपाल लिमिटेडको २.५० प्रतिशत र ग्रीन लाइफ हाइड्रोपावरको सेयरमूल्य २.०५ प्रतिशतका दरले घटेको छ ।
कारोबारमा आएको तेह्र उपसमुहगत सूचकमध्ये लघुवित्त, विकास बैंक र फाइनान्स सूचक बाहेक दश सूचकमा बढोत्तरी भएको छ । जलविद्युत सूचक सर्वाधिक १.६४ प्रतिशतले बढेको छ । उत्पादनमुलक, म्युभुअल फण्ड, अन्य र बैंकिङ्ग सूचकमा १ प्रतिशतभन्दा धेरैले वृद्धि देखिएको छ । फाइनान्स ०.०३, लघुवित्त ०.११ र विकास बैंक ०.४४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर अब्बल देखिएको छ । कम्पनीको ७ लाख ९९ हजार २०४ कित्ता सेयर ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
यसैगरी अपि पावर ४१.०१ करोड, अपर तामाकोशी हाइड्रोपावरको २४.१० करोड, नेपाल टेलिकमको २३.९८ करोड र शिवम् सिमेन्टेको २१.१२ करोडको सेयर कारोबारमा आएको छ । कारोबार संख्याका आधारमा मध्य भोटेकोशीको सबैभन्दा धेरै ११ हजार ८५३ वटा कारोबार भएको छ ।
