काठमाडौं । ‘कलरवाली’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको छ । २९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो ।
१७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।
वनमन्त्री डा.कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘मध्य प्रदेशलाई टाइगर स्टेटको दर्जा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी रानी अब रहिनन् ।
मप्र को टाइगर स्टेट का दर्जा दिलाने में महत्वपूर्ण भूमिका निभाने वाली 'रानी' अब नहीं रही। प्रदेश में 29 शावकों की माता 'सुपर टाइग्रेस मॉम' को मैं अपनी श्रद्धांजलि अर्पित करता हूँ। रानी के योगदानों से आज हमारा प्रदेश आज टाइगर स्टेट के रूप में ख्याति प्राप्त कर रहा है। pic.twitter.com/lNU9k8bX8S
— Dr. Kunwar Vijay Shah (@KrVijayShah) January 16, 2022
प्रदेशमा २९ डमरुकी आमा सुपर टाइग्रेस ममप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । रानीको योगदानका कारण आज हाम्रो प्रदेश टाइगर स्टेटको रुपमा ख्याती कमाइरहेको छ ।’ अन्य वन्यजीव प्रेमीहरुले पनि कलरवालीको मृत्युमा शोक व्यक्त गरेका छन् ।
यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ ।
साभार :अनलाइन खबर