नेपाली ८ करोड भन्दा बढीका भारु साट्न भारत अनिच्छुक

२ माघ २०७८, आईतवार ०७:५८


नेपाली ८ करोड बढिका भारु साट्न भारत अनिच्छुक देखिएको छ । भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ थन्किएका छन ।

भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ५ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोट सटही नहुँदा नेपाल राष्ट्र बैंकमै थन्किएको हो ।

भारु ५ सय दरको ३ करोड ४० लाख ७३ हजार ५ सय र हजार दरका १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैंयाँ केन्द्रीय बैंकको स्टोरमा रहेको छ । अहिले नेपालसँग ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

‘उक्त नोटको ईक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सय रहेको छ । यो बैंकिङ प्रणालीमा भएको रकम हो’, उनले भने ।

नोट सटहीका लागि परराष्ट्र मन्त्रालयले भारतीय परराष्ट्र मन्त्रालयसँग विभिन्न किसिमका वार्ताहरू गरिरहेको उनले जानकारी दिए ।

उक्त रकम बराबरको भुक्तानी केन्द्रीय बैंकले गरिसक्यो । यसकारण सो रकमको सटही नपाए मुलुकलाई घाटा हुने उनले बताए ।

यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक रिजर्भ बैंक अफ ईण्डया (आरबीआई) लाई पत्राचार पनि गरेको थियो । तर, पहल गर्दैमा आरबीआईले सहजै मान्ने देखिएन ।

तथापि राष्ट्र बैंक र आरबीआईका कार्यकारी निर्देशक तथा निर्देशकहरूको टेक्निकल कमिटीमा हुने छलफलमा यसबारे जानकारी गराइएको सह–प्रवक्ता पोखरेलले बताए ।