
बिहीबार नेप्से सूचक उत्साहजनक देखिएको छ । बुधबार सामान्य करेक्सन भएको बजारमा बिहीबार नेप्से सूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा आइपुगेको छ ।
६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार थप केही करेक्सन हुन लागेको हो कि भन्ने आम आशंकाको बीचमा नेप्से फेरि सकारात्मक बनेको हो ।
यसअघि लामो समयसम्म बजार घटेको, भाउ सस्तो भएको अनि तरलता सहज हुँदै गएको सन्दर्भमा सेयर बजारको माहोल फेरि सकारात्मक बनेको हो । तलमाथि गर्नु नै सेयर बजारको चरित्र हो । यसअघि साढे चार महिनाको अवधिमा बजार अस्वभाविकरुपमा घटेको थियो । बजार जसरी घटेको थियो, त्यसरी नै बढ्नेक्रममा लागेको विश्लेषकहरु बताउँछन् । पुस सुरु भएसँगै बजार बढ्दो प्रवृत्तिमा देखिन सुरु भएको हो ।
यस दिन अन्यबाहेक बाँकी सबै समूहको सूचकमा वृद्धि देखिएको छ । हाइड्रोपावर, फाइनान्स, बिमा लगायतका समूहहरुमा बढी तेजी आएको छ । ४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । ३४ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र निफ्रा परेका छन् । २२४ कम्पनीको १ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
