
काठमाडौं । नेपालमा पछिल्लो समय काभिड – १९ को तेस्रो लहर कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न थालेको छ । दिनानुदिन कोरोना संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
यस्तै सरकारले २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु पनि बन्द गराएको छ । गृहमन्त्रालयले कोरोना रोकथामको लागि भन्दै सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् ८ बुँदे आदेश पनि जारी गरेको छ । कोरोना संक्रमण बढ्दै जाँदा धेरैलाई फेरि लकडाउन हुने हो कि भन्ने चिन्ता छ । यसअघिको लकडाउनमा भोग्नु परेको अवस्था आउने होकी भन्ने धेरैको मनमा छ ।
तर यस बिषयमा मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा लकडाउन गरिहाल्ने सोच मन्त्रालयको नभएको बताएका छन् । उनले अहिले लकडाउन गर्ने बारे छलफल नै नभएको बताएका हुन् ।
मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको बताइएको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ ।
