पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा शाहले असन्तुष्टि पोखे

२७ पुष २०७८, मंगलवार ११:४२

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

नेपाल प्रज्ञा(प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।

यस्तै पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतान्त्रिक शासन व्यवस्थाप्रति असन्तुष्टि पोखेका छन् । पूर्वराजाले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा हिजो पौष २६ गते (सोमबार) एक सन्देश जारी गर्दै उनले जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखे पनि त्यो निरर्थक हुने बताएका छन् ।